News Griha :: न्यूजगृह
पूर्वप्रधानमन्त्रीले दिए प्रेमिकालाई १० करोड यूरो

रोम— इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको गत महिना निधन भएको थियो । उनले आफ्नी ३३ वर्षीया प्रेमिका मार्टा फासिनाका लागि १० करोड यूरो छाडेका छन् ।

तीनपटक इटालीका प्रधानमन्त्री बनेका बर्लुस्कोनीको कुल सम्पत्ति ६ अर्ब यूरोभन्दा बढी रहेको अनुमान गरिएको छ ।

फोर्जा इटालियाका डेपुटी फासिना र बर्लुस्कोनी बीचको सम्बन्ध मार्च २०२० मा सुरु भयो । यद्यपि बर्लुस्कोनीले फासिनासँग कानुनी रूपमा विवाह गरेका थिएनन् । तर बर्लुस्कोनीले आफ्नो मृत्युअघि फासिनालाई आफ्नी ‘पत्नी’ भनेका थिए ।

३३ वर्षीया फासिना सन् २०१८ को आमनिर्वाचनदेखि इटालीको संसद्को तल्लो सदन सदस्य हुन् । उनी फोर्जा इटालियाकी सदस्य हुन् । बर्लुस्कोनीले १९९४ मा पहिलोपटक राजनीतिमा प्रवेश गर्दा स्थापना गरेको पार्टीमा उनी लागेकी थिइन् ।

बर्लुस्कोनीको व्यापार साम्राज्य उनका दुई जेठा छोरा, मरीना र पियर सिल्भियोले नियन्त्रण गर्ने भएका छन् । उनीहरु दुबैले पहिले नै व्यवसायमा कार्यकारी भूमिका सम्हाल्दै आएका छन् ।  अब उनको फिनभेस्ट परिवारको सम्पत्तिमा ५३ प्रतिशत शेयर हुनेछ ।

पूर्वप्रधानमन्त्रीले आफ्नो भाइ पाओलोको लागि एक सय मिलियन यूरो दिएका छन् भने माफियासँग सम्बन्धको लागि जेल सजाय भोगेका फोर्जा इटालिया पार्टीका पूर्वसिनेटर मार्सेलो डेलउट्रीको लागि ३० मिलियन यूरो छोडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

मंगलबार उनका सन्तान र अन्य साक्षीको उपस्थितिमा उनको इच्छापत्र पढेर सुनाइएको थियो । पत्रका भनिएकाे थियाे, ‘म उपलब्ध स्टक मेरा छोराछोरी मारिना र पियर सिल्भियोलाई बराबर भागमा छोड्छु । म मेरा पाँच छोराछोरी मरीना, पियर सिल्भियो, बारबरा, एलियोनोरा र लुइगीलाई बराबर भागमा सबै कुरा छोडेको छु । धन्यवाद । तपाईंहरू सबैलाई धेरै माया, तपाईंको बुबा ।’

बर्लुस्कोनीले कर छलीको आरोपमा दोषी ठहरिएपछि ६ वर्षको लागि राजनीतिबाट प्रतिबन्धित हुनुअघि इटालीको प्रधानमन्त्रीको रूपमा तीन कार्यकाल सेवा गरेका थिए । उनी इटालीको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्रीको रूपमा चिनिन्छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०७:१५
Weather Update