News Griha :: न्यूजगृह
महाकाली नदीको सतह बढ्यो, स्थानीय त्रासमा

खलंगा— भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ ।

मंगलबार बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने हुँदा महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

उनले भने, ‘राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौँ ।’

महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन् । सदरमुकाम खलंगाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २१:२६
Weather Update