News Griha :: न्यूजगृह
विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुई दर्जन बढी घाइते
तस्बिरहरूः पत्रकार राकेश कर्णको फेसबुकबाट

विराटनगर— कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै जारी आन्दोलनका क्रममा विराटनगरमा झडप हुँदा दुई दर्जन बढी घाइते भएका छन् । 

आन्दोलनका क्रममा मंगलबार पहिचान पक्षधर र प्रहरीबिच झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी दुई दर्जन बढी घाइते भएका छन् । झडपमा परी डेढ दर्जन बढी आन्दोलनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक खरेलले जानकारी दिए । प्रहरीका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३/३ जना घाइते भएका छन् । 

झडपका क्रममा रबरको गोली लागेर मोरङका सुरज राई घाइते भएका छन् भने, मोरङको ग्रामथान-६ का २१ वर्षीय सुरज राईलाई दाहिने खुट्टामा रबरको गोली लागेको छ । यस्तै सुनसरी, धरान-१२ का किराँत राष्ट्रिय मोर्चाका केन्द्रीय उपाध्यक्ष ४१ वर्षीय अशोक राई घाइते भएका छन् ।

Koshi Aandolan-Jhadap-21680001429.png

यसैगरी सुनसरी धरानकै २२ वर्षीय उदय लिम्बूकाे दाहिने खुट्टामा चोट लागेको छ भने इटहरी-५ का २६ वर्षीय पदम केरुङको देब्रे हातको कुहिनोमा चोट लागेको छ । सुनसरी, धरान-१६ का ५१ वर्षीय शिव आङदेम्बेकाे टाउकोमा गम्भीर चोट लागेको छ । धरानकै ४८ वर्षीय ज्ञानप्रकाश राईको, धरान-५ का ४६ वर्षीय एक के दर्नाल, २५ वर्षीय विशाल राईको टाउकोमा चोट लागेको छ । उनीहरूलाई विराटनगरको पारस अस्पतालमा प्राथमिक उपचारपछि धरान घोपा पठाइएको छ ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्याँस प्रहार गरेको पोखरेलले बताए । आन्दोलन शान्त पार्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।

Koshi Aandolan-Jhadap-31680001454.png

विराटनगरको मुख्यमन्त्री कार्यालय नजिक रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आएका सांसदहरूलाई दबाब दिन भन्दै पहिचान पक्षधरहरु त्यहाँ पुगेका थिए । 

होटलमा सांसदहरू भेला भएर अन्तरक्रिया गरिरहेको अवस्थामा आन्दोलनकारीहरू त्यहाँ पुगेर तोडफोड गरेका थिए । आन्दोलनका क्रममा आन्दोलनकारीले उक्त होटलको सीसाहरूमा क्षति पुर्‍याएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:५०
Weather Update