News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति, ३९ दिनदेखिको आन्दोलन स्थगित

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति, कर्मचारी युनियन र कर्मचारी संघको ३९ दिन देखि चलिरहेको संयुक्त विद्यालय कर्मचारी आन्दोलन–२०८० मंगलबार स्थगित भएको छ । तलब, सेवासुविधा र पेसागत स्थायित्वको माग गर्दै काठमाडौंमा विद्यालय कर्मचारीले आन्दोलन गरिरहेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । 

तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह र कार्यालय सहायकलाई श्रेणीविहीन सरहको सुविधा उल्लेख गर्ने सहमति भएको र उक्त सहमतिको प्रतिवेदन वार्ता समितिले शिक्षामन्त्री अशोककुमार राईलाई केहीबेर अघि बुझाएको छ । 

शिक्षा मन्त्रालयले सो प्रतिवेदनका आधारमा अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ । विद्यालय लेखापालले रु १३ हजार पाँच सय र कार्यालय सहायकले रु आठ हजार पाउँदै आएका छन् । 

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । पारिश्रमिकमा काम गर्नुपरेको, सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशबमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाइ कार्यान्वयन गर्न विद्यालय कर्मचारीले माग गर्दै आएका छन् ।

तेस्रोपटकको ‘वृहत् आन्दोलन’ पछि भएको सहमति कार्यान्वयन नभए फेरि कडा आन्दोलन गर्ने परिषद्ले चेतावनी दिएको छ । 

360082373_657991849198020_136361611157551583_n1689078020.jpg

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:१२
Weather Update