
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट्याएका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा उनले आफ्नो पार्टी सरकार बनाउने, जोगाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताए । ‘हामीले भनेका छौँ– हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौँ । त्यतातिर सोचेका पनि छैनौँ,’ उनले भने, ‘हामी ग्रासरूटमा लाग्यौँ । अब मिशन २०८४, मिशन ५१ पर्सेन्ट । यतापट्टि हामी लागेका छौँ ।’
उनले सरकार र सत्तारूढ दलहरूले झुट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए । ‘केही पनि गरेको छैन राम्रो काम । यसले के गर्यो ? ढाँट्छ, छक्याउँछ,’ उनले भने ।
अध्यक्ष ओलीले संविधान र कानुनबमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले सो विधेयक समयमा संसद्मा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुनेगरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताए । उनले भने, ‘मिटरब्याजीहरूको सम्बन्धमा ज्येष्ठ २४ गते विधेयक पास गर्न दिएनन भनेर गृहमन्त्री कड्किए । यिनीहरूनै हुन्, जसले वैशाख २४ गते पेस गर्नुपर्ने कुरा असार ५ गते पेस गर्छन् पार्लियामेन्टमा । के हेरेर बसे ?’