
काठमाडौं— राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरेकी छन् ।
‘प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ? त्यसैले पनि यो बजेट सन्तुलित छैन, यसले अहिलेको आवश्यकतालाई पूर्ति गर्न सक्दैन,’ उनले भनिन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा उनले तीन जिल्ल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताइन् । उनले अहिलेको बजेट आशावादी बजेट नरहेको र आवश्यकता अनुसार नआएको दाबी गरिन् ।
अहिलेको बजेट निर्वाचन क्षेत्र केन्द्रित रहेको र अर्को पटक आफैँलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने उनको भनाइ छ ।