
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसारकार्यमा सघाउ पुर्याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु ।’
नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्र लगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो महसुस भएकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयका रूपमा २०६७ सालमा स्थापना गरिएको हो ।
देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित यस विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुर्याउने प्रधानमन्त्री प्रचण्डको अपेक्षा छ । उनले सो विश्वविद्यालयलाई सरकारको सहयोग निरन्तर भइरहने विश्वास दिलाए ।
विश्वविद्यालयले देशैभरि आंगिक कलेज स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशमा आठ कृषि सङ्काय र एउटा वन विज्ञान सङ्कायअन्तर्गतका कलेज तथा दुई कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।
आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिसकेकाले आगामी दिनमा थप सहयोग उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विश्वविद्यालयको लक्ष्य, उद्देश्य परिपूर्तिका लागि तयार पारिएको दोस्रो दश वर्षे रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु कार्यक्रमको सबलीकरण र गुणस्तरमा विशेष जोड रहने विश्वास व्यक्त गर्दै थप अनुसन्धान केन्द्रको विस्तारमा ध्यान दिन आग्रह गरे ।
हेटौँडास्थित वन विज्ञान सङ्कायको आफ्नै भवनमा शैक्षिक कार्यक्रम सञ्चालनमा आएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम शैक्षिक कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रधानमन्त्री दहालले विश्वास दिलाए ।
‘कृषि र पशुपालनमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक छ । विदेशबाट काठको आयात हुने तर, स्वदेशमा उत्पादन जङ्गलबाट उपभोक्तासम्म नपुग्ने हालको अवस्थामा कसरी काठको अधिकतम प्रयोग गर्न सकिन्छ । यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानको आधारमा विश्वविद्यालयले आवश्यक कार्य गर्नेछ भन्ने कुरामा विश्वस्त छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
सीमित स्रोतको बाबजुद पनि विश्वविद्यालयका अनुसन्धानमा सहभागी सबै वैज्ञानिक प्राध्यापकलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिए । उनले आगामी दिनमा समेत अनुसन्धान कार्यलाई प्राथमिकतामा साथ अघि बढाउन विश्वविद्यालयलाई आग्रह गरे ।
कृषि र पशुपन्छी विकास रणनीतिको महत्वपूर्ण कार्यक्रममा कृषि शिक्षा तथा प्रसारलाई एकीकृत रूपमा सञ्चालन गर्न, आधुनिक कृषि र वन प्रविधिलाई विद्यार्थीमार्फत किसान एवं वन उपभोक्तासमक्ष पुर्याउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट आवश्यक सहयोग रहने उल्लेख गरे ।
त्रिभुवन विश्वविद्यालयबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्पत्ति हस्तान्तरण र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यमा सरकारको तर्फबाट आवश्यक सहजीकरण हुने उनको भनाइ छ । महालेखाको प्रतिवेदनमा उल्लेख भएको बेरूजु फर्छ्यौट गर्न आगामी दिनमा विश्वविद्यालयले गम्भीरतापूर्वक लिने र आवश्यक पहलसमेत उनले निर्देशन दिए । रासस