News Griha :: न्यूजगृह
विमला राई पौड्यालको प्रश्न : नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ?

काठमाडौं— राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरेकी हुन् । 

उनले असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन आग्रह गरिन् । छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको उनको भनाइ छ । 

राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गरिन् । 

उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ कि के हो ? परराष्ट्रले सहजीकरण गरिरहेको छ ? नत्र भने किन एकतर्फी हुन्छ बनेट ? हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला । असंलग्न परराष्ट्र नीति छोडेका हौँ कि समातिएको छ, के भइरहेको छ ? यसमा जवाफ दिनुहोला ।’

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:०५
Weather Update