News Griha :: न्यूजगृह
विविध कार्यक्रम गरेर विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौं— संयुक्त राष्ट्रसंघको आह्वानमा आज जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रुपमा विशवभरी मनाइएको छ ।

सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णयसँगै सन् १९९० देखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउन गरिएको छ ।

नेपालमा पनि विश्व जनसंख्या दिवसका अवसरमा मंगलबार विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ ।

बढ्दो जनसंख्याकै कारण पर्यावरण, विकास लगायतका विभिन्न क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अहिले विश्वको जनसंख्या आठ अर्ब पुग्नु संख्यात्मक ल्याण्डमार्क भए पनि अवसरसहितको सम्मानित र पूर्ण जीवन विताउने अवस्थाको सिर्जना गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार हजारौं वर्षमा १अर्ब पुगेको विश्वको जनसंख्या पछिल्लो २ सय वर्षमा सात गुणाले बढेको छ ।

सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो त्यो संख्या बढेर २०२१ अर्थात् एक दशकमा ७ दशमलव ९ अर्ब पुगेको थियो ।

यो संख्या सन् २०३० मा करिव ८ दशमलव ५ अर्ब पुग्ने आंकलन गरिएको छ । २०५० मा ९ दशमलव ७ र सन् २१०० मा यो संख्या १० दशमल ९ अर्ब पुग्ने अनुमान छ  ।

जनसंख्या वृद्धि संगै पछिल्लो समयमा उत्पादनको दर र जीवन संचालन खर्चमा व्यापक फेरवदल आएको छ ।

सन् १९७० सम्म महिलाले औसतमा ४ देखि ५ जना बच्चा जन्माउने गरेका थिए । त्यो संख्या घटेर सन् २०१५ विश्वमा औसत बच्चा उत्पादन दर २ दशमलव ५ कायम भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०९:४६
Weather Update