
काठमाडौं— पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।
सोमबार ‘डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले डेंगीको सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराए ।
डेंगी सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने,‘असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेंगी सङ्क्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेंगी नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।’
उनका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको सङ्ख्या धेरै छ । ‘हाम्रो रेकर्डमा धेरै रिपोर्टिङ भएको छैन । लक्षण नदेखिएका बिरामी बाहेक निजी अस्पताल वा स्वास्थ्य संस्थामा जाने बिरामीको सङ्ख्या तथ्याङ्कमा समावेश हुन सकेको छैन । त्यसकारण पनि सङ्क्रमितको सङ्ख्या तथ्याङ्कमा भन्दा धेरै भएको हाम्रो आकलन हो’,उनले भने ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले विभागले तीनै तहको सरकारसँग डेंगी नियन्त्रणका लागि सहकार्य गरिरहेको बताए । एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण, डेंगीको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ ।
एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । महाशाखाले स्थानीय तहका सरकारसँगै सरोकारवाला निकायसँगको सहकार्यमा ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको छ ।