News Griha :: न्यूजगृह
मन्त्रीको नाम पेस गर्न कार्यदललाई नेकपा एसको निर्देशन

काठमाडौं— नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ ।

मंगलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो । 

कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रीय सचिवालयमा पेस गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे टुंगोमा पुग्ने सकिने उनको भनाई थियो । 'सरकारका सन्दर्भमा सरकारमा जाने विषयमा हाम्रो कतै विमति रहेको छैन । मन्त्रालयको टुंगो नलागीकन मन्त्रीहरूको टुंगो लगाउन गाह्रो हुने भएकाले यी दुवैको गृहकार्य गरी चाँडो भन्दा चाँडो सचिवालयको बैठकमा पेस गर्न ३ सदस्यीय कार्यदललाई आज पनि हामीले निर्देशन दिएका छौं', प्रवक्ता खतिवडाले भने, 'कार्यदलले चाँडो भन्दा चाँडो मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामसहित उसले पेस गर्न सक्छ । त्यसमा छलफल हुन्छ । पेस गरेको कुरामा केही सुधार गर्नु परे सुधार पनि होला । अनि, हामी निर्णयमा पुग्नेछौँ ।'

बैठकले मिटरब्याज पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको प्रवक्ता खतिवडाले बताए । 'मिटर ब्याज पीडितहरू अहिले आन्दोलनमा छन् । धेरै लामो समय हिँडेर, दुःख गरेको काठमाडौं आई पुगेका छन् । उनीहरू सडकमा छन् । हामी, हाम्रो पार्टी उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दछ । हामी उहाँहरूको मागलाई पूरा गर्न सरकारसँग जोडदार माग पनि गर्दछौं', प्रवक्ता खतिवडाले भने, 'हाम्रो पार्टीबाट ऐक्यबद्धता प्रकट गर्दै उहाँहरूको पक्षमा हाम्रो आफ्नो धारणा पनि हामी राख्नेछौं । र, मिटर ब्याज लगाउनेहरूलाई, कानुनी रुपले दोषीहरूलाई कारबाही गर्नका लागि पनि हामीले माग गरेका छौं ।'

बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटीका सदस्य चूडामणि जंगलीले पार्टीमा विविध कारण देखाई पेस राजीनामा स्वीकृत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:१२
Weather Update