
काठमाडौं— नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले प्रतिनिधि सभामा दर्ता गरिएको संघीय शिक्षा ऐनमा बालविकास शिक्षक (ईसीडी शिक्षक) का विभिन्न माग नसमेटिए परिस्थितिको विश्लेषण गरी कडा आन्दोलन गर्ने जानकारी गराएको छ ।
अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीले आइतबार देशभरका ईसीडी शिक्षकहरूलाई सर्कुलर जारी गर्दै आन्दोलनका लागि तयारी अवस्था रहन आग्रह गरेका छन् ।
सर्कुलरमा भनिएको छ,‘शिक्षा ऐनको मस्यौदामा बालविकास शिक्षकका मागहरू नसमेटिए सबै परिस्थितिको विश्लेषण गरी सशक्त सडक आन्दोलनका कार्यक्रम घोषणा गरिने भएकाले सबै समितिहरू तयार रहन यो सर्कुलर जारी गरिन्छ ।’
बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले यही असार २२ गते शिक्षक महासंघ र महासंघका घटक अध्यक्ष, महासचिवलगायतसँग गम्भीर छलफल भएको जनाएको छ ।
ईसीडी शिक्षकहरूले एकद्वार प्रणालीबाट समय अनुसारको तलबभत्ता, सेवासुविधा, प्रा.वि तह सरह तलब, पेसागत स्थायित्व, सुरक्षा, गोल्डेन ह्याण्डसेक, समय समयमा प्रभावकारी तालिमको माग गर्दै आइरहेका छन् ।
ईसीडी शिक्षक केन्द्रीय समितिले उल्लेखित माग पूरा गराउनका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्री, नेतालगायत भेट्नुपर्ने र ध्यानाकर्षण बुझाउनुपर्ने सबलाई आग्रह गरिसकेको छ ।