News Griha :: न्यूजगृह
किन दिए प्रचण्डले विवादित अभिव्यक्ति ? यस्तो छ प्रस्टीकरण

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताएका छन् ।

उनले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले आफूलाई प्रधानमन्त्री बनेको देख्न चाहाने शुभेच्छा राखेको कुरा मात्र आफूले केही दिन अघिको सार्वजनिक कार्यक्रममा राखेको स्पष्ट पारे ।

भावनात्मक र पारिवारिक वातावरणमा भएको सो कुरालाई मात्र आफूले पुस्तक विमोचन कार्यक्रममा राखेको उनले बताए । प्रधानमन्त्री दाहालले आफूले सो कुरा नभनेको भए पनि हुने भन्दै आत्मआलोचना समेत गरे । उनले आफ्नो भावनात्मक अभिव्यक्ति राष्ट्रप्रति नै घात हुने खालको नभएको बताए ।

उनले भने,‘सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाईं नै हुनुपर्छ भन्ने प्रसंग उठाउनु भयो त्यतिबेला । उहाँले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिइनँ । मैले उहाँलाई फेरि प्रधानमन्त्री बनाइदिओस् भनेर भन्नेकुरा पनि थिएन । तर उहाँले भावनामा आएर तपाईं हुनुपर्छ, यो परिवर्तन ल्याउने मुख्य तपाईं हो त्यसकारण प्रधानमन्त्री तपाईं हुँदा  हुन्छ । मैले त यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु । नेपालमा पनि पार्टीहरुसँग कुरा गर्ने गरेको छु । तपाईंलाई प्रधानमन्त्री बनाउन भनेर उहाँले भन्नुभयो । मैले धन्यवाद भनें । त्यहाँभन्दा बढी उहाँलाई तपाईंको यो शुभेच्छाको निम्ति धन्यवाद तर अहिले त्यो स्थिति छैन । थिएन पनि ।’

प्रधानमन्त्री दाहालले प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन सक्ने हैसियतका कुनै शक्ति केन्द्र नभएको बताए ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:३३
Weather Update