News Griha :: न्यूजगृह
यस्ता छन् पाठ्यक्रम कार्यान्वयनका चुनौती

काठमाडौं— सरकारले लागु गरेको नयाँ पाठ्यक्रम कार्यान्वयन पक्षमा थुप्रै समस्या रहेको देखिएको छ । पाठ्यसामग्रीमा शुद्धाशुद्धिदेखि शिक्षक अभिमुखीकरण तालिम अभाव, जटिल पाठ्यसामग्री, मूल्याङ्कन पद्धतिमा अन्यौलतालगायत विविध समस्या रहेको एक अनुसन्धानले देखाएको छ। 

शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)को सहकार्यमा पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास एवम् कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस विषयमा जानकारी दिइएको हो । 

इजोनसँगको सहकार्यमा केन्द्रले कास्की र धनुषा जिल्लामा पाठ्यक्रम र पाठ्यसामग्रीको कार्यान्वयनबारे स्थलगत अनुसन्धान गरेको थियो । अनुसन्धानमा यी दुवै जिल्लाका सामुदायिक र संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरू र शिक्षहरूसँग छलफल गरिएको थियो । धनुषा जिल्लामा स्थलगत अनुसन्धान गरेर आएका पत्रकार ईश्वर ढकालले त्यहाँका शिक्षकहरूले पाठ्यक्रम र पाठ्यसामग्रीलाई लिएर राखेका विविध समस्याहरूलाई २५ वटा बुँदामा प्रस्तुुत गरेका थिए । 

नयाँ पाठ्यक्रम लागु गरियो तर, शिक्षक बेखबर रहेको भन्दै उनले भने, ‘शिक्षकलाई अभिमुखीकरण तालिम चाहिएको छ । एकाइले बजेट विनियोजन गरेको तर, अर्थ मन्त्रालयले बजेट कटौती गरिदिएको भन्ने गुनासो छ ।’ 

‘पाठ्यघण्टा वैज्ञानिक हुन नसकेको, कोर्स पूरा गर्न नसकिएको, निजी र सरकारी पाठ्यपुस्तकमा एकरूपता नभएको, अंग्रेजी विषय निकै जटिल बनाइएको, विद्यार्थीलाई सिकाउनेभन्दा पनि अनुत्तीर्ण गराउने उद्देश्य राखिएको भनाइ अंग्रेजीकै शिक्षकबाटै आएको उहाँहरूले बताउनुभएको छ,’ उनले थपे । 

धेरै विषयवस्तुलाई समेट्न खोज्दा कतिपय विषयका पाठ्यपुस्तक ‘उँट’ बनाइएको गुनासो शिक्षकको रहेको उनले जिकिर गरे । भन्छन्, ‘सामाजिक शिक्षामा कम्प्युटर, विज्ञान छ । कानुनदेखि भुगोल सबै जान्नुपर्नेछ । त्यो कति सम्भव होला ?’

यसैगरी, राणाकालीन शिक्षाका लेखक एवम् पत्रकार प्रकृति अधिकारीले कास्की जिल्लामा गरिएको स्थलगत अनुसन्धानको बारेमा १० वटा सुझावहरूलाई बुँदागत रूपमा बताउँदै आन्तरिक मूल्याङ्कन शिक्षकको लागि टाउको दुखाइको विषय बनेको स्पष्ट पारे । भन्छन्, ‘आन्तरिक मूल्याङ्कन र ग्रेडिङ प्रणाली बुझ्न कठिनाइ, कतिपय स्थानमा प्रतिशतको आधारमा मूल्याङ्कन गरिएको, शिक्षकमा अध्ययनको कमी, संस्थागत विद्यालयमा शिक्षक अभिमुखीकरण तालिम राखिनुपर्ने र शिक्षक निर्देशिका तुरुन्त वेबसाइटमा राख्नुपर्ने आवश्यकता देखिएको छ ।’ 

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पाठ्यक्रम र पाठ्यपुस्तकको विकास र कार्यान्वयनमा के कस्तो भइरहेको छ, समस्या के आएका छन् र थप समस्या के हुन सक्छ भनेर प्रतिक्रिया लिन उक्त अन्तरक्रिया आयोजना गरेको स्पष्ट पारे । 

यसैगरी, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय पाठ्यक्रमसम्बन्धी अनुसन्धानकर्ता विद्यालयकै शिक्षक नहुँदा वास्तविक समस्या बाहिर आउन नसकेको बताए । भन्छन्, ‘हामी विश्वविद्यालयका प्राध्यापकहरू अनुसन्धान गर्छौँ । यसले शिक्षकहरूको समस्या के हो, त्यो सतहमा आएन । अब अनुसन्धान गर्न शिक्षकलाई नै लगाऊ, यसले शिक्षकले पाठ्यक्रम कार्यान्वयन गर्दा कहाँ–कहाँ समस्या आयो भन्ने कुरा सजिलै बाहिर आउनेछ । आफैँले अनुसन्धान गरी ल्याएको कुरा कार्यान्वयन गनए सजिलो पनि हुनेछ ।’

उच्च माध्यामिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले नेपालको विद्यालय तहको पाठ्यक्रमको मापदण्ड कुन स्तरको बनाउने भन्नेमा छलफल गर्न जरुरी रहेको औँल्याए । ‘हाम्रो पाठ्यक्रमको मापदण्ड कस्तो बनाउने सोच्न जरुरी छ । हामी भारतको सीबीएस जस्तो बनाउने हो कि या क्याब्रिजको जस्तो ए लेभल बनाउने, समकक्षता कस्तो हुने गम्भीरतापूर्वक सोच्न जरुरी छ,’ उनले भने । 

पाठ्यक्रम लागु गर्न शिक्षकको दरबन्दीको कमी, देशभर गणित शिक्षकको अभाव रहेको बौद्धस्थित जनकल्याण माविकी प्रधानाध्यापक कुमारी कमला राईले औँल्याइन् । भन्छिन्, ‘एउटै शिक्षकले ६/७ घण्टा दिनुपर्छ । शिक्षकहरूलाई लोड बढी भएको छ । अनि शिक्षकले कसरी अध्ययन अनुसन्धानको लागि समय पाओस् ।’ 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:१५
Weather Update