News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा धरौटीमा रिहा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार ती तिन युवालाई ५ हजार रुपैयाँ धरौटी तिराएर रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन भट्टले जानकारी दिए ।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माले धरौटी बुझाएर रिहा भएका हुन् । उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो । 

प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण सोमबार उनीहरूलाई कारागार चलान गरिएको थियो । उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाएपछि प्रधानमन्त्री र सरकारको सर्वत्र विरोध भएको थियो । 

गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो । पक्राउ पछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।

प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:०५
Weather Update