
काठमाडौं— काठमाडौं जिल्ला अदालतभित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका छन् ।
बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानुन व्यवसायी र सेवाग्राहीहरूलाई पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका हुन् । कानुन व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएका छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेका बताए । उनले पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताए । अदालतले नक्सा पास बिनाको भवन बनाएर गैर कानुनी काम गरेको पनि उनले उल्लेख गरे ।
अर्का एक अधिवक्ताले अदालतभित्रको पार्किङ खुलाउनका लागि पटकपटक आग्रह गर्दा पनि अदालतले नसुनेको बताए । अधिवक्ताहरूको समस्यालाई नेपाल बार एसोसिएसनले समेत चासो नदेखाएको भन्दै उनले बार र बेञ्चको सेटिङ भएको आरोप लगाए ।
काठमाडौं जिल्ला अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेलले सोमबारदेखि नै जिल्ला अदालतको गेट नम्बर ४ मा कानुन व्यवसायीहरूका लागि पार्किङ सुविधा गरिएको बताए । उनले अन्डरग्राउन्ड पार्किङ पनि छिट्टै खुल्ने बताए । समस्या समाधानका लागि अदालत र बार एसोसिएसनबीच संवाद भइरहेको उनले स्पष्ट पारे ।
आन्दोलित कानुन व्यवसायीहरूले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।