News Griha :: न्यूजगृह
ममाथि  षड्यन्त्र भयो, शरणार्थी प्रकरणमा जबर्जस्ती तान्न खोजियो : आरजु  
फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जबर्जस्ती तान्न खोजिएको दाबी गरेकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिइएको अडिओ आरोपित सन्देश शर्माको आवाजसँग मेल खाएपछि राणाले सोमबार रासससँग कुरागर्दै आफूमाथि षड्यन्त्र भएको दाबी गरेकी हुन् । उनले बदनियतपूर्णरुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न खोजिएको जिकिरसमेत गरेकी छन् ।

सार्वजनिक अडिओ संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज नक्कली शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका आरोपित दाङका सन्देश शर्मा कै भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको राणाको दाबी छ  ।

राणाले भनिन्, ‘पहिले नै सो व्यक्तिले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूले आरजुलाई नचिनेको र नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्टरूपमा बाहिर आइसकेकाले यो अडिओ जसले बनाएको वा सामाजिक सञ्जालमा राखेको भए पनि मलाई विवादमा ल्याउनका लागि रचिएको हो, यसमा मेरो कुनै पनि संलग्नता छैन ।’

उक्त अडिओ सार्वजनिक भएपछि अनुसन्धान गर्न आरजुले नै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको हो । प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपित सन्देश शर्माको आवाजको ‘स्याम्पल’ सँग मेल खाएको जानकारी आइतबार गराएको थियो ।  

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:४०
Weather Update