हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद् भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन् ।
सोमबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाउन उनले आग्रह गरे ।
त्यसैगरी, शहरी विकासमन्त्री सिता गुरुङले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको सङ्ख्या बढाउन निर्माण व्यवसायीहरूलाई आग्रह गरिन् । उनले कहीँ कतै नीतिगत अप्ठ्यारो परेको खण्डमा गाँठो फुकाउनका लागि सरकार तयार रहेको बताइन् ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १५:१९