
काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताएका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा उनले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरूलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्ने कुराको अध्ययन गर्न आवश्यक रहेको बताए ।
नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने उनको भनाइ छ । नेपाली समाजलाई समाजवादमा पुर्याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने उनले बताए । उनले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सुरु भइसकेको बताए ।