
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका हुन् ।
उनले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा जोड दिए ।
उनले पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागेका अन्य श्रष्टाहरूलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० बाट कमलप्रसाद कोइराला, डा. बालचन्द्र मिश्र र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ ।