
महोत्तरी— असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा.रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो ।
उनले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष अहिलेसम्म १० प्रतिशत धान मात्रै रोपाइँ भएको बताए ।
महोत्तरीमा धान खेतीयोग्य जग्गा ५० हजार हेक्टर रहेकामा बर्सेनि औसतमा ४५ हजार हेक्टर जग्गामा धान खेती हुँदै आएको छ तर यस वर्ष सो सङ्ख्या घट्ने अनुमान गरिइएको छ ।
जिल्लामा १२ महिना सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ ।
किसानलाई चाहिएको बेला पानी परेको वर्षमा धान खेतीमा वृद्धि र समायमा पानी नपर्दा धान खेतीमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।