
काठमाडौं— राष्ट्रिय सभाको बैठक आज पनि ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आइतबारको बैठक अवरुद्ध गरेकाे थियाे ।
विपक्षी एमालेले बैठक अवरुद्ध गरेपछि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठक अवरुद्ध नभए विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ ।
कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी विकास, गृह, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयअन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।