News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने सम्भावना

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने  बैठकबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ ।

बैठकमा ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञानेन्द्र शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठले दिएको विरोधको सूचनाहरूलाई निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन् ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी कानुनमन्त्री गुरुङले प्रस्ताव पेस गर्नेछन् ।

त्यसपछि उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी विधेयक पारितका लागि प्रस्ताव गरिनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ गते सोमबार दिएको एक सार्वजनिक अभिव्यक्तिबारे प्रस्टीकरण दिने सम्भावना छ ।

‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा साेमबार दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए  ।

‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो ।

साेही भनाइलाई लिएर नेकपा एमालेसहित विपक्षी दलले यसअघि दुई पटकसम्म संसद् चल्न दिएका थिएनन् । एमालेले प्रधानमन्त्रीकाे राजीनामासमेत माग गरेकाे छ । 

आइतबार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेताहरूसँग बैठक गरी सदन खुलाउने विषयमा छलफल गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०७:२५
Weather Update