News Griha :: न्यूजगृह
पशुपतिनाथमा साउने सोमबारको व्रत तयारी पूरा

काठमाडौं— चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज (असार २५ गते) सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।

चन्द्रमासअनुसार दुईटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।

धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतम बताउँछन् ।

पशुपतिनाथ मन्दिरमा भने चन्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । चन्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए ।

साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:०३
Weather Update