
काठमाण्डाैं— नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन् ।
प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै सचेतक बर्तौलाले सभामुखलाई सिङ्गो संसद्ले विश्वास गर्नुपर्ने बताए । प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा उनको जोड थियो ।
सचेतक बर्ताैलाले सभामुख सभाको रेफ्री भएको भन्दै रेफ्रीले कति बेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताए ।
उनले सभामुखले कार्य व्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताए । त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने उनको भनाइ छ । 'माननीयहरूले राखेको विषय उहाँहरूको सार्वभौम अधिकारको कुरा हो । हामी सबैले के बुझ्नु पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस हो । प्रतिनिधि सभाको सभामुख भनेको हाउसको अगुवा र नेता भएकोले उहाँलाई सिङ्गो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो', बर्तौलाले भने, 'किनभने उहाँ रेफ्रीको भूमिकामा हुनुहुन्छ । रेफ्रीले कति बेर सिठी बजाउने भन्ने कुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रीको पर्फमेन्स के हुन्छ ? सिङ्गो खेलको अवस्था के रहन्छ ? त्यस कारण रेफ्रीले निष्पक्षता, तटस्थताको आधारबाट भूमिका निर्वाह गर्नुपर्छ ।'
सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्न नहुने उनले बताए ।
मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडि बढ्दा संसद् गतिहीन हुनसक्ने र अवरोधहरूको जन्जालमा पर्न सक्ने बताए ।
संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनुहुँदैन भन्ने निष्कर्ष राजनीतिक दलहरूको रहेको पनि सचेतक बर्ताैलाले उल्लेख गरे ।













