News Griha :: न्यूजगृह
गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न पाइँदैन : महामन्त्री शर्मा

काठमाडौं— नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र, गणतन्त्रमा विरोध गर्ने व्यक्तिको मुख थुन्न नपाइने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका तीन जना युवाको मुख थुनेको र उनीहरूलाई थुनामा राखेपछि उनले तत्काल ती युवालाई रिहा गर्नुपर्ने माग गरेका छन् । 

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै अविलम्ब रिहा गर्न माग गरेका हुन् । 'सम्माननीय पीएमनेपाल लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन', उनले ट्विटर मा लेखेका छन्, 'प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो ।'

आफू विरुद्ध नाराबाजी गरेका युवालाई तत्काल रिहा गर्न माग गर्न उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।' 

गत ७ चैतमा थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका युवा अहिले थुनामा छन् । 

बैंकको चर्को ब्याज लगायतका विषयमा नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई मुख थुन्दै प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ । 

चैत १२ मा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तोकेको ५ हजार धरौटी नबुझाएका कारण उनीहरू जेल चलान भएका छन् । यसपछि महामन्त्री शर्माले उनीहरूको रिहाका लागि माग गर्दै लोकतन्त्रमा विरोधीको मुख थुन्न नपाइने बताएका हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:३७
Weather Update