News Griha :: न्यूजगृह
करणी मुद्दामा यम दोषी ठहर, अब साढे १८ वर्ष जेलमा

तनहुँ— तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । 

जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो ।

यही असार १३ गते मुद्दा फैसला भएकोमा आइतबार सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

अदालतले कुँवरलाई ६ लाख जरिवाना र १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ । निज अभियुक्तविरुद्ध वि.सं. २०७८ असार ८ गते परिवर्तित नाम २०७७/७८ ट कुमारी वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

१४ वर्षीया बालिकालाई वि.सं.२०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र वि.सं.२०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो ।

अभियुक्तले बालिकालाई वि.सं.२०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १८:०७
Weather Update