News Griha :: न्यूजगृह
जनताले चाहेमा अर्को पार्टी खोल्छु : एमाले नेता रावल

धनगढी— नेकपा एमालेका नेता भीमबहादुर रावलले जनताको चाहनाअनुसार आगामी कदम चाल्ने बताएका छन् ।

मंगलबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले पार्टीबाट किनारा लगाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताए ।

उनले जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्न सकिने समेत बताए । 'मैले देशको हितमा काम गर्दै आएको छु । पार्टीको गतिविधि विपरीत काम पनि गरेको छैन,’ नेता रावलले भने, 'तर कसै अमुक व्यक्तिका कारण मलाई किनारा लगाउन खोजिँदै छ । अहिले पनि सहेर बसेको छु तर, अब यस्तै भए विकल्प सोच्न बाध्य हुने छु ।'

एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरूले आफूलाई किनारा लगाएको उनले आरोप लगाए । 'एमाले अध्यक्ष केपी ओलीसँग ८औं महाधिवेशनमा झलनाथ खनालले प्रतिस्पर्धा गरेर जितेका थिए, ९औं महाधिवेशनमा माधव नेपालले प्रतिस्पर्धा गरे केही भएन', उनले भने, 'तर सुदूरपश्चिमबाट मैले प्रतिस्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिस्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।'

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:०६
Weather Update