
काठमाडौैं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ट्याङ्की निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा उनीविरुद्ध आरोप लागेको छ । त्यस्तै, आयोगले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका– २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८–०७९ मा कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चंखेली गाउँपालिका– २ मा खानेपानीको ट्याङ्की निर्माण गर्ने योजना थियो । तर ट्याङ्की निर्माण नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्यांकन गरी भुक्तानी दिएको अख्तियारको आरोप छ ।
प्रमुख प्रशासकीय अधिकृत शाहीले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानिनोक्सानी पुर्याएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।