
कामाडौं— संसद्को अवरोध खुलाउन सत्तारुढ दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर उनको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको छ । आइतबारको राष्ट्रिय सभा बैठक पनि एमालले अवरुद्ध गरेपछि सोमबारसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभा बैठक पनि आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसद्को अवरोध खुलाउन नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको थियो ।
संसद् अवरुद्ध हुँदा मिटर ब्याज सम्बन्धी विधेयक निष्क्रिय भएपनि आइतबारको बैठकमा पुनः पेश गर्ने तयारी सरकारको छ । तर आज पनि संसद् चल्न नदिने भएपछि एमालेसँग छलफल गरेर निकासको प्रयास गर्ने निर्णय गठबन्धन आवद्ध दलहरूले गरेका हुन् ।