News Griha :: न्यूजगृह
एसईई नतिजा : बैतडीमा बिजोग, को जिम्मेवार ? 

बैतडी— सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसईईको नतिजामा देखिएको हो ।

हालै सार्वजनिक एसईई परीक्षाफलमा सुदूरपश्चिममा ३.६  भन्दा माथि जीपिए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून  छ ।

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि ४२२ विद्यार्थीको मात्रै ३.६ भन्दा माथि जीपीए आएको छ ।

यसमा बैतडीमा ३.६ भन्दा माथि जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए ।

उनले भने,‘बैतडीबाट पाँच हजार तीन सय ३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि ३.६ भन्दा माथि जीपीए आएको छैन । गत वर्ष पनि कसैको उक्त जीपीए आएको थिएन ।’ सुदूरपश्चिमका नौ जिल्लामामध्ये ३.६ भन्दा माथि जीपीए ल्याउन नसक्ने जिल्ला बैतडीमात्रै रहेको हो ।

बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट २२७ जनाले ३.६ भन्दा माथि जीपीए ल्याएका छन् । यस्तै डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौ जनाले, बाजुराबाट पाँच र बझाङबाट एक जनाले ३.६ जीपीए ल्याएका छन् ।

माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो । निरन्तररूपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भए पनि स्थानीय तहहरूले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् ।

स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको नभएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थीले बताए । अहिले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ ।

उनले भने,‘स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ । गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो । स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०९:५१
Weather Update