काठमाडाैं— विभिन्न विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढंगले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकारसमक्ष अनुरोध गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी र अनेरास्ववियुले आज विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन् । उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती संगठनको भनाइ छ ।
आसन्न स्ववियु निर्वाचनमा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु गरी तीन विद्यार्थी संगठनबीच तालमेल गरेर जाने सहमति पनि भएको छ ।
ती संगठनले सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यका र उपत्यका बाहिर समेतका क्याम्पसमा तालमेल गरेर जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
सहमतिअनुसार सबै संगठनको मातहतका कमिटीहरूले कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिएको छ ।













