
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविष्मरणीय रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित भैरवसिंह रावल स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा देउवाले रावलले विशेषत सुदूरपश्चिम क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले भने, ‘रावलले मलाई अति माया गर्नुहुन्थ्यो, उहाँले प्रजातान्त्रिक आन्दोलनमा पनि गतिलो योगदान दिनुभयो, सुदूरपश्चिमेहरु एक हुनुपर्छ भन्दै उहाँले सुदूरपश्चिम क्षेत्रको विकासमा खेलेको भूमिका पनि बिर्सन सकिन्न ।’
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भैरवसिंह रावलले नेपाली कांग्रेसमा समाहित भएपछि खेलेको भूमिका कसैले विर्सन नसक्ने बताए ।
देउवाले भने, ‘बिभिन्न जिल्लामा विभाजित अछामलाई छुट्टै र एक बनाउन रावलले खेलेको भूमिका बिर्सनु हुन्न, उहाँले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि रावलले खेलेको योगदान चानचुने छैन्, सुदूरपश्चिमको अहिलेको विकास पनि रावल जग हालेको बिर्सन हुन्न ।’
रावलको बारेमा लेखिएको पुस्तक भैरवसिंह रावल स्मृति ग्रन्थको विमोचन कांग्रेस सभापति देउवाले गरेका थिए ।