
काठमाडौं— सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् ।
शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले एमालेले प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको दाबी गरे । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए ।
उनले भने, ‘यसको बारेमा त तपाईँले अस्ति तिरै थाहा पाई सक्नुपर्ने हो । गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरू बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौं । राजीनामा गर्नु पर्दैन । एक त एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरूले बोल्नु पर्थ्यो । संसद्मा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसद्मा उहाँहरूले कुरा उठाउन सक्नु हुन्थ्यो । के बोलेको हो तपाईँले भनेर प्रधानमन्त्रीसँग क्लियरीफिकेशन माग्न सकिन्थ्यो । तर उहाँहरूले पहिल्यै राजीनामा माग्नु भयो । मलाई लाग्छ– एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’
एमालेले भारतीय नागरिक प्रितम सिंह बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।