News Griha :: न्यूजगृह
राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुनेछ : घनश्याम भुसाल

काठमाडौं— सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन् । 

दलाल पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रूपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क छ । 

‘अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आइराख्या छ । स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ । तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल पुँजीवादमाथि प्रश्न उठाएका छैनन्,’ उनले भने, ‘त्यसअर्थमा त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरूले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । र, त्यो भन्दा राम्रो रोजगारी पाउँछन । यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन् ।’ 

पार्टी निकट कानुनी व्यवसायीहरूको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव भुसालले दलाल, पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढन सक्ने अवस्था नरहेको बताए । उनले मुलुकमा रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढनुपर्ने जिकिर गरे । 

महासचिव भुसालले आफ्नो पार्टी मात्रै दलाल पुँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबी समेत गरे । 
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १५:३०
Weather Update