News Griha :: न्यूजगृह
विचौलियातन्त्रले राष्ट्रको नयाँ सपनाहरू खान्छ : घनश्याम भुसाल 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलाल पुँजीवादले सुशासनलाई प्रभाव पार्ने र रोजगारी सिर्जनामा बाधा पुर्‍याउने बताएका छन् ।

स्वतन्त्र न्यायपालिका, अवधारणा, समस्या र सुधारका सम्भावनाहरू विषयक अन्तरक्रिया कार्यक्रममा भुसालले दलाल पुँजीवादले उद्यामबिनाका मानिसहरू पुँजीपति बनाउने पुँजीतन्त्रको सिर्जना गर्ने भन्दै त्यसले संसद्, कानुन, न्यायालय र राजनीतिक नेताहरू सबै खरिद गर्ने बताए ।

उनले भने, ‘अहिले विचौलियातन्त्रलाई आम रूपमा लिन थालेको छ । यो विचौलियातन्त्रको बारेमा चुप लागेर न्यायालयको स्वतन्त्रता हुदैँन, विचौलियातन्त्र एवम् दलाल पुँजीवादका बारेमा सचेत नभएको बौद्धिक जमातले आजको समस्या समाधान गर्दैन । दलाल पुँजीवादले एउटा सुशासनलाई खान्छ अर्को भनेको यसले रोजगारी सिर्जना हुन दिदैँन । यस्तो पुँजीतन्त्रको सिर्जना गर्छ जसले उद्यामबिनाका मानिसहरू पुँजीपति हुन्छन् । ती पुँजीपतिहरूसँग यति पैसा हुन्छ कि उनीहरूले संसद्, कानुन, न्यायालय र राजनीतिक नेताहरू सबै खरिद गर्छन् ।’

देश यस्तै राजनीतिक अस्थिरतामा भड्किने हो भने सुशासन र स्वतन्त्र न्यायलयको सपना पूरा नहुने पनि उनको भनाइ छ ।

उनले भने, ‘स्वयम् न्यायाधीश बनाउने व्यवस्था प्रक्रियामा विचौलियातन्त्र आजको युगको होइन, यसले राष्ट्रको नयाँ सपनाहरू खान्छ । देश यस्तै राजनीतिक अस्थिरतामा भड्किने हो भने सुशासन र स्वतन्त्र न्यायलयको कुरा असम्भव हुन्छ । देशमा रोजगारीको सुनिश्चितता गर्ने जुन बाटोमा देश जादैँ थियो, त्यहाँभित्र केपी ओलीले गरेको क्रियाकलापले, त्यो बाटोले संसद् विघटन गर्ने कुराले, त्यसमार्फत संविधान हान्ने तरिकाले, संसद्लाई र राष्ट्रपति कार्यालयलाई खेलौना बनाउने तरिकाले हाम्रो लोकतान्त्रिक स्थिरताका साथ विकास गर्ने नेपाली जनताको आशामाथि आक्रमण भयो ।’  

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १५:१०
Weather Update