
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् ।
महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क गरे । उनले भने, ‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन । हाम्रा लागि राष्ट्रको भविष्य प्रधान हो । कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन ।’
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्ष सहित सो काममा आफ्नो पार्टी लागि परेको दोहोर्याए ।
मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफनो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी मिशन ग्रासरूट अभियान संचालन गरेको स्पष्ट पारे ।
महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरूले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गराउन चाहेको तर्क पनि गरे ।
उनले जनादेशविपरीत कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पुर्याउने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरू क्रियाशील रहेको बताए ।
महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताए । उनले नीति, सिद्धान्त र सङ्गठनबिनाका नयाँ राजनीतिक शक्तिहरूले मुलुकको नेतृत्व लिन नसक्ने जिकिर समेत गरे ।