News Griha :: न्यूजगृह
सरकार यसरी नै चलिरहे ०८४ मा कांग्रेसले जोसँग मिले पनि जित्दैन : नेता पौडेल

काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् । 

‘सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ । त्यसैले मुख्य कुरा मिसन ८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔँ,’ उनले भने । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरूबाट कांग्रेस डराउनु नपर्ने बताए । उनले भने, ‘हामी जुन जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिनसक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्ल चुनाव जितिन्छ । कसैसँग डराउनु पर्दैन ।’

नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे । पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ छ । नेता पौडेलले चुनावका बेला प्रतिस्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेके भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गरे । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:४६
Weather Update