News Griha :: न्यूजगृह
देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । 

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । ‘अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ,’ उनले भने । 

उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा सबै नेपालीहरूलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने बताए । आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने उनको भनाइ छ ।

‘यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ । तर, म थाकेको छैन, हारेको छैन,’ उनले भने, ‘नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु ।’

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८०/२०८१ को सुरु गर्न जरुरी रहेको बताए । सबै पार्टीहरू मिसन २०८४ मा लागेकाले कांग्रेसल यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:३०
Weather Update