
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले मिटरब्याजपीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद भएको बताएका छन् ।
तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका उनीहरूलाई खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको नगर प्रहरीले प्रवेशमा रोक लगाएको थियो । उक्त विषयमा प्रष्टीकरण दिँदै मेयर साले माइतीघरले न्याय नदिने बताएका छन् ।
‘न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,’ मंगलबार सामाजिक सञ्जालमा मेयर साहले भनेका छन्, ‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनुपर्ने हो ।’
उनले पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने बताए ।
खुलामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको उनले बताएका छन् । उनले थप भनेका छन्, ‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरू शंकास्पद छन् ।’
न्यायका लागि वर्षौँ लड्ने वातावरण नबनाइ केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्नेमा सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा बसाउनेगरी प्राथमिकतामा राखिएकोमा उनले आपत्ति जनाए ।













