News Griha :: न्यूजगृह
न्यूनतम तलब १७ हजार पनि नपाएको अधिकांश ईसीडी शिक्षकको गुनासो

काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले सरकारले नै तोकेको न्यूनतम तलब मासिक १७ हजार रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् ।

न्यूजगृहसँग विभिन्न पालिकाका ईसीडी शिक्षकहरुले तलब नपाएको सूचना दिएका हुन् ।

नियमअनुसार संघीय सरकारबाट १० हजार रुपैयाँ र स्थानीय तहबाट ७ हजार गरी जम्मा १७ हजार रुपैयाँ पाउनुपर्ने हुन्छ । तर अधिकांश स्थानीय तहले अति न्यून तलब दिँदा ईसीडी शिक्षकहरुलाई दैनिक गुजारा चलाउन कठिन भएको छ ।

एक जना ईसीडी शिक्षक भन्छिन्,‘संघीय सरकारले १० हजार रुपैयाँ र स्थानीय सरकारले ७ हजार रुपैयाँ दिनुपर्ने नियम सुनिन्छ । तर हामीले पाएका छैनौं । कतै १२ हजार, कतै १० हजार र कतै १७ हजार रुपैयाँ तलब पाएको साथीहरुले बताउनु हुन्छ ।’

संघीय सरकारले बजेट निकासा गरे पनि स्थानीय सरकारले आन्तरिक स्रोत कमजोर हुँदा तोकिएको तलब दिन नसकिएको बताएका छन् । तर कतिपय स्थानीय तहले संघीय सरकार सरह १० हजार रुपैयाँमा १० सै हजार थप गरी मासिक २० हजार रुपैयाँ दिएका छन् ।

देशभरका ईसीडी शिक्षकहरूले प्रा.वि तह सरह तलब,सेवासुविधा माग गर्दै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १८:२२
Weather Update