News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकको सुरु मै एमाले सांसदहरु उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए । 

सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन कुनै व्यक्ति दिल्ली गएको भनी अभिव्यक्ति दिनुभएको भन्दै त्यसप्रति आपत्ति गरिन् । 

उनले नेपालको प्रधानमन्त्री सार्वभौम संसद्ले बनाउने व्यवस्था रहेको र कुनै व्यक्ति र बाह्य मुलुकले प्रधानमन्त्री बनाउन पहल गरेको सन्देश जाने गरी अभिव्यक्ति दिनु संविधान र मुुलुकको स्वाधीनता विपरीत भएको टिप्पणी बताइन् । । 

सांसद घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकको नियमित कारबाही सञ्चालन हुननसक्ने बताइन् । अध्यक्ष तिमिल्सिनाले बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको र यसलाई निष्कर्षमा पुर्याउन समय कम भएकाले बैठक पुनः सञ्चालनका लागि आग्रह गरेका थिए  । 

तर एमालेका सांसदहरु उभिएर विरोध जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गरेका हुन् । राष्ट्रिय सभामा विनियोजन विधेयकका बाँकी विभिन्न शीर्षकमाथिको छलफलका लागि असार २४ गते निर्धारण गरिएको छ । साथै छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीको जवाफका लागि असार २५ र २६ गतेको समय तोकिएको छ । राष्ट्रिय सभाको अर्को बैठक असार २४ गते बिहान ११ः३१ बजे बस्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:४१
Weather Update