News Griha :: न्यूजगृह
गुरुङसहित तीन जनाको रिट निवेदनमा सुनुवाइ हुँदै, पेसी भट्टराई र फुयालको इजलासमा

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. भट्टराई र फुयाल कै संयुक्त इजलासमा परेको थियो । तर त्यस दिन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।

बिहीबार उक्त रिट निवेदन न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर न्यायाधीश रेग्मी कुनै बेला रिट निवेदन मीनबहादुरका निजी कानुन व्यवसायी रहेका कारण ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ गरिएन । गत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

हदम्याद कटिसकेको मुद्दामा आफूहरूलाई पक्राउ गरिएको भन्दै उनीहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:०९
Weather Update