वडाध्यक्ष रोका एसईई उत्तीर्ण
म्याग्दी— मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोका पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् ।
माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २ दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण भए । रोकाले २०५८ सालमा एसएलसी परीक्षा दिएपनि अनुत्तीर्ण भएका थिए । त्यसपछि पढाइ छाडेर उनी वैदेशिक रोजगारको लागि मलेसिया र अफगानिस्तान गए ।
त्यहाँ ८ वर्ष बसेका रोका २०६९ सालमा घर फर्किएका हुन् । गत वर्षको स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका हुन् । पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १०:५४