News Griha :: न्यूजगृह
जिल्ला सभापतिहरूको भेलामा सभापति देउवा अनुपस्थित

काठमाडौं— १४औं महाधिवेशनपछि नेपाली कांग्रेसले बिहीबार पहिलोपटक जिल्ला सभापतिहरूको भेलाको आयोजना गरेको छ । भेला आज पनि बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा भएको भेलामा देउवा नै अनुपस्थित रहे ।

६५ भन्दा बढी जिल्लाका सभापति सहभागी भएको भेला सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणमा आउन सक्ने समस्यालाई समाधान गर्ने प्रयोजनका लागि राखिएको थियो । तर भेलाको मूल विषयलाई छाडेर जिल्ला सभापतिहरू भने सरकारको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गरेका थिए ।

बैठकपछि कांग्रेस केन्द्रीय मीन विश्वकर्मा भेलामा सरकारको कामकारबाहीबारे प्रश्न उठेको बताए । 
उनले भने,‘भेलामा सरकारको विषयमा साथीहरूले कुरा उठाउनुभयो, छलफल पनि भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पनि सही होइन भन्ने कुरा उठ्यो ।’

आगामी असार २७ गते बोलाइएको केन्द्रीय समिति बैठकअघि बोलाइएको जिल्ला सभापतिहरूको भेलाले कांग्रेस भित्र नयाँ तरंग उत्पन्न गरेको छ ।

यता महामन्त्री गगन थापाले भेला महत्त्वपूर्ण भएको बताए । उनले भने,‘भेला धेरै अर्थमा महत्त्वपूर्ण छ । भेला बोलाउन आवश्यक पनि थियो ।’ सभापति देउवा भेलामा अनुपस्थित हुनुलाई भने भेलामा सहभागीहरूले अर्थपूर्णरूपमा लिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०९:३३
Weather Update