News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ छलफलका लागि पेस हुने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अधिव्यक्तिबारे प्रस्टीकरण दिने बताइएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर नेकपा एमालेसहित प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन् । 

प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा साेमबार दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए  ।

‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालले भनेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०६:५२
Weather Update