मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन घटे

फुङ्लिङ— दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् ।
मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिरोले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।
गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिरोले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन ।
पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जालले विच्छेद भएको छ ।
विभिन्न जिल्लाका यातायातका साधन ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिर पूजापाठ गर्न आउने भक्तजनको सङ्ख्यामा कमी आएको हो ।
विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले एक सयभन्दा कम हुन थालेको महतले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० ०५:५४