News Griha :: न्यूजगृह
घुस लिएको अभियोगमा स्वास्थ्यकर्मी र वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराईविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो ।

आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

त्यस्तै आयोगले बिहीबार सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भवन निर्माण सम्पन्न भएको सिफारिश गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

आरोपी वडाध्यक्ष विरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने  माग गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:२३
Weather Update