
काठमाडौं— पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।
बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन् ।
कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको र यो बेकारको विषय भएकाले संसद्मा उठाउनुपर्ने आवश्यकता नै नरहेको उनले जिकिर गरिन् । ‘एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्यूले अन्यथा बोलेको हामीलाई लाग्दैन । प्रधानमन्त्रीज्यूले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्नेकुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो । जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न,’ उनले भनिन् ।
उनले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरुद्धको विधेयक संसद्बाट पास गर्न नपाएको आरोप समेत लगाइन् ।