
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले रासायनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सरकारले सोच्न आवश्यक रहेको बताए । रासायनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरूले गर्दा बालबालिकाहरूमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए ।
उनले भने, ‘कृषकले मल नपाइरहेको कारण एउटा विचौलिया र अर्को वितरण प्रणाली नभएको हो । त्यसमा काम गर्नुपर्छ । रासायनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण गर्ने कुरालाई कसरी न्यूनीकरण गर्ने भन्ने कुराहरू केही पनि छैन । अर्थ समिति दिगो विकास लक्ष्यको दस्तखत गरेको हो । दिगो विकास लक्ष्यको मापनहरू प्यारामिटरअनुसार भएको छ कि छैन ? भनेर हेर्ने पनि निकाय हो । जनस्वास्थ्यको संवेदनशीलता पनि हेर्नुपर्छ । दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरूले गर्दा बच्चाहरूमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको भन्ने देखाइरहेको छ, यसको लागि के छ ? माटोको गुणस्तर खस्किँदै गएको छ, अनिकाल बढ्दैछ ।’
सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न संकट निम्तिरहेको बताए ।